प्रदेशभित्र रहेका करिब २८ लाख नागरिकको जीवनसँग खेलबाड गर्दिन-भट्ट

0
280

धनगढी: सेती प्रादेशिक अस्पतालको सुधारको कुरा उठाउँदा आफूलाई कारबाही गरिएको अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्ली राज भट्टले बताएका छन्। स्वास्थ्यकर्मी भर्ना प्रक्रियाको विरोध गरेका डिल्ली राज भट्टलाई नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले कारबाही गरेको छ। अस्पताल व्यवस्थापन समितिका सदस्य रहेका भट्टलाई नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटीको पदाधिकारी बैठकले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।

नगर अध्यक्ष सुरज खातीको अध्यक्षतामा मङ्गलवार बसेको पदाधिकारी बैठकले पार्टीको विधि र नीति विपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो। नगर कमिटी सचिव रमेश भट्टराईले पार्टीको अनुशासन विपरीत काम गरेकाले भट्टलाई कारबाही गरिएको बताए।

भट्टले भने पार्टीको नीति र विधान विपरीत नगर कमिटीमा रहेका केही व्यक्तिले गैर कानुनी ढङ्गले कारबाही गरेको बताएका छन्। उनले पार्टीको विधानमा नगर कमिटीको सदस्यको हकमा जिल्ला कमिटीले अनुशासनको कारबाही गर्ने प्रावधान रहे पनि नगर कमिटीका चार जना बसेर आफूलाई कारबाही गरिएको बताएका छन्।

‘अस्पतालमा कर्मचारी भर्ना प्रक्रिया नियमसंगत गरौँ भन्दा कारबाही’

सेती प्रादेशिक अस्पतालमा ७१ जना कर्मचारी भर्नाको प्रक्रिया नियम सङ्गत तरिकाले गर्नुपर्छ भनेकाले पार्टीको नाममा केही व्यक्तिले आफूलाई कारबाही गरेको भट्टले बताएका छन्। स्वास्थ्यकर्मी भर्नामा अनियमितता भइरहेको भन्दै भट्टले प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई विधिसम्मत रूपमा काम गर्न ध्यानाकर्षण गराएका थिए। सोही विषयलाई लिएर माओवादी केन्द्रको धनगढी नगर कमिटीका अध्यक्ष सुरज खातीले २८ चैतमा भट्टलाई स्पष्टीकरण सोधेका थिए।

तपाईँलाई पार्टीको तर्फबाट सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्यको जिम्मेवारी दिइएको, उक्त अस्पतालमा पार्टीको तर्फबाट व्यवस्थापन समितिको अध्यक्ष हुँदा तपाईँले संस्था र पार्टीको हित विपरीत कार्य गरेका पाइएकाले दुई दिन आफ्नो लिखित जवाफ पेस गर्नका लागि यो पत्र पठाइएको छ,’ अध्यक्ष खातीले सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ।भट्टले दुई दिन भित्र जवाफ पेस गरेको भए पनि चित्त नबुझेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरिएको हो। पटक पटक पार्टी हित विपरीत काम गरेकाले कारबाही गरिएको नगर कमिटीले जनाएको छ।

भट्ट माओवादी केन्द्रको धनगढी नगर सचिवालय सदस्य, प्रचारप्रसार विभाग प्रमुख र वडा नम्बर ४ को इन्चार्जको जिम्मेवारीमा थिए । प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य भट्टले पार्टीले गरेको कारबाही आन्तरिक विषय भएको बताएका छन्।

उनले पार्टी कमिटी र नेतृत्वसँग कारबाहीको विषयमा आफूले छलफल गरिरहेको बताउँदै अस्पताल व्यवस्थापन समितिको सदस्यको हैसियतमा व्यक्तिगत स्वार्थपूर्ति गर्न ऐन, कानुन विपरीत काम गर्न नहुने बताएका छन्। प्रादेशिक अस्पतालमा नवौँ तहका चिकित्सकसहित अन्य कर्मचारी पदपूर्ति गर्न थालेको प्रक्रिया विवादित बनेको थियो।

सम्भव भएसम्म लिखित परीक्षा गर्नू: मुख्य महान्यायाधिवक्ता

अस्पतालले कोरोना महामारीका बेला बनाइएको मापदण्डमा टेकेर स्वास्थ्यकर्मी भर्ना थालेको भन्दै उजुरी परेको थियो। प्रदेशको मुख्य महान्यायाधिवक्ता कार्यालयले सामाजिक मन्त्रालयलाई महामारीका बेलाको मापदण्डको सुविधा जुनसुकै बेला लिन नपाउने राय दिएको थियो। मुख्य महान्यायाधिवक्ता कार्यालयले सम्भव भएसम्म लिखित परीक्षा नै लिएर कर्मचारी भर्ना गर्न सुझाव दिएको र त्यो सुझावलाई नै सामाजिक विकास मन्त्रालयले सेती अस्पताललाई पठाएको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए।

भट्टलाई पार्टी विधान विपरीत कारबाही

नेकपा माओवादी केन्द्रको अन्तरिम विधान, २०६३ को पहिलो संशोधन २०७८ को अध्याय १२ सङ्गठनात्मक सिद्धान्त, पद्धति र अनुशासनको धारा ५६ को उपधारा (२) को (ख) मा ‘कुनै पनि व्यक्ति वा सदस्यले तोकिएको दायित्व र जिम्मेवारी पालना नगरेमा समितिको हकमा माथिल्लो समितिले सचेत गर्ने वा नसिहत दिने वा निलम्बन गर्ने वा विघटन गर्न सक्नेछ र सदस्यको हकमा सम्बन्धित समितिले ठोस आधार तथा कारण खुलाई नसिहत वा  एक पद घटुवा गर्न सक्नेछ। तर, त्यस्तो निर्णय एक तह माथिल्लो समितिबाट अनुमोदन भएपछि लागू हुनेछ।’ भन्ने उल्लेख गरिएको छ।

यस्तै, सेल, टोल र वडा समितिसम्मको कारबाही नगर/गाउँ समितिले गर्न सक्नेछ, नगर/गाउँदेखि जिल्ला अन्तर्गतका समितिहरूमा जिल्ला समितिले र जिल्ला समितिको लागि प्रदेश समितिले अनुशासनको कारबाही गर्नेछ। तर कुनै पनि तहको निर्णयको अनुमोदन एक तह माथिल्लो समितिबाट गराउनु पर्नेछ’ भन्ने विधानमा उल्लेख छ। विधानमा उल्लेखित प्रावधानअनुसार नगर कमिटीका केही व्यक्तिले आफूलाई गरेको कारबाही अवैध रहेको भट्टको दाबी छ।

भट्टले विगत बाट मौलाएको नाताबात, कृपावाद र गलत प्रवृत्ति सम्बन्धमा समाजका विभिन्न तह र तप्काका समाजसेवी, सञ्चार जगत् र बौद्धिक वर्गको चासोलाई म प्रदेशका सम्पूर्ण नागरिकको प्रतिनिधित्व गर्ने भएको नाताले नागरिकहरूलाई अनुभूति हुने गरी नेपालको प्रचलित संविधान परिधिभित्र रही सेवा प्रदान गर्नुका साथै कर्मचारी भर्नालाई पारदर्शी गराउन मेरो सङ्घर्ष जारी रहनेछ l

भट्टले भने, अस्पताल सम्पूर्ण विकासका लागि समन्वय र सहकार्य गर्दै गर्दा नियतबस नभएका तर प्रक्रियागत त्रुटीहरुलाई सच्याउँदै आगामी दिनहरूमा अस्पतालको विकासका लागि सम्पूर्ण सकारात्मक कार्यहरुमा साथ समर्थन र सहयोग हुने ब्यहोरा जानकारी गर्दछु l

भट्टले  व्यक्तिगत र संस्थागत स्वार्थ पूर्ति गर्ने प्रवृत्तिको विरुद्ध मेरो आवाज रोकिने छैन र प्रदेशभित्र रहेका करिब २८ लाख नागरिकको जीवनसँग खेलबाड नगर्ने सम्पूर्णमा प्रतिबद्धता व्यक्त गर्दछु l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here